काठमाडौं । खानेपानी मन्त्री विना मगरले महिनावारीको नाममा गरिने विभेदलाई न्यूनिकरण गर्न राष्ट्रिय अभियान नै संचालन गर्नुपर्ने बताएकी छन् । महिनावारीको बेला महिलाले भोग्ने छाउगोठको पीडा र विभिन्न सामाजिक विभेद अन्तका लागि सरकारले नै विशेष पहल थाल्नु पर्ने बताइन् ।
छौटौं महिनावारी स्वच्छता दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मगरले भनिन्, “पहिले आफ्नै गाउँघरमा देखिने साना छाउगोठहरु सामान्य लाग्थे, तर अहिले अजिंगरको मुख जस्तै लाग्छन् ।”
आफ्नै निर्वाचन क्षेत्रमा समेत छाउगोठ रहेको थाहा पाउदा निकै दुख लागेको बताउदै मन्त्री मगरले महिनावारी कुनै पाप नभई प्राकृतीक प्रकृया भएकाले यसलाई सामान्य रुपमा लिन सबैलाई आग्रह समेत गरिन ।
महिनावारी भएका बेला महिलाले छाउगोठमा भोग्नुपर्ने पीडा अत्यास लाग्दो भएकाले यसको अन्त्यका लागि स्वयम जनता जागरुक हुनुपर्ने उनको भनाई थियो ।
महिनावारीबारे जनचेतना, मर्यादित, र छाउगोठ हटाउनका लागि आफ्नो मन्त्रालयबाट समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मन्त्री मगरले बताइन् ।
“महिनावारीका बेला धर्म र परम्पराका नाममा महिलामाथी धेरै अन्याय र अत्याचार भइरहेका छन उनले भनिन्, महिनावारी भएका आमा, दिदिबहिनीहरुलाई छाउगोठमा राख्नु र विभेद गर्नु राज्यले अब दण्डित बनाइसकेको छ । यसबारे सबै सचेत हुनुपर्दछ ।”
मन्त्री मगरले महिनावारीका बेला गरिने विभेद जस्ता अन्य थुर्पै गलत परम्परा र संस्कृतीहरु समाजमा ब्याप्त रहेकाले तिनिहरुको अन्त हुनुपर्नेमा जोड दिईन । ‘यस्ता गलत चलनहरु नेपालमा मात्रै होइनन्, नेपालीहरु जहाँ जहाँ पुग्छन, त्यहाँ त्यहाँ देखिएका छन्, जुन परिर्बतन हुनु आवश्यक छ’, मन्त्री मगरले भनिन ।
महिनावारीमा गरिने विभेद र अन्याय अन्तका लागि सर्बप्रथम आफु र आफ्नो परिवारबाटै सुरुवात गर्नुपर्नेमा जोड दिदै उनले यस्ता चलनको अन्त गर्नुको विकल्प नरहेको बताईन ।
छौटौं महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला, संचारकर्मी लगायतको उपस्थिती थियो । महिनावारीलाई मर्यादित र विभेदरहित बनाउनका लागि सबैले आ आफ्नो ठाँउबाट प्रयास गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
कार्यक्रममा लोकपृय कवि नवराज पराजुलीले महिनावारी सम्बन्धी जनचेतनामुलक कविता समेत वाचन गरेका थिए ।
भिडियो हेर्नुहोस