काठमाडौं । रोल्पाको एक स्कुलमा शिक्षिकाको कुटाइबाट ४ छात्राको हात भाँच्चिएको छ भने १४ जना घाइते भएका छन् । विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परेकी छिन् ।
रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले प्रार्थना समयमा नआएको भन्दै विद्यार्थीहरुलाई जेठ १२ गते कुटपिट गरेकी थिइन् ।
शिक्षिकाको पिटाइबाट भीमकुमारी बाँठा, गौरी घर्ती, निर्मला पुन, शान्ता नेपाल र विमला रोकाको हात भाँचिएको छ । ‘कसैको हड्डी चर्किएको र कसैको भाँच्चिएको प्रअ भण्डारीले आलाइनखबरलाई बताए ।
शिक्षिकाको कुटाइबाट हात भाँच्चिएको खबर एक सातासम्म गुपचुपजस्तै रहे पनि पत्रपत्रिकामा सार्वजनिक भएपछि प्रहरीले फेरि घटनाबारे चासो देखाएको छ । शिक्षिका पुनलाई सोमबार पक्राउ गरिएको छ ।
इप्रका होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईँका अनुसार अहिलेसम्म अभिभावकले जाहेरी दिएका छैनन् । जाहेरी दर्ता भए त्यसअनुसार कारबाही चलाइनेछ ।
‘नभए शान्ति सुरक्षामा खलल पु¥याएको कसुरमा कारबाही गर्छौं’ चापागाईँले भनेका छन् ।
मिलापत्रपछि चेकजाँच
जेठ १२ गते बिहान घटना भएको थियो । बेलुका स्कुल छुट्टी भएपछि विद्यार्थीहरु घर गए । उनीहरुमध्ये धेरै कुटाई खाएका पाँचजनाको हात राम्ररी नचलेपछि अभिभावकले विद्यालयमा भएको घटनाबारे थाहा पाए ।
भोलिपल्ट विप्लवको नेपाल बन्दका कारण स्कुल खुलेन ।
जेठ १४ विद्यार्थीहरुले स्कुलमा ताला लगाए । अभिभावकले आफूहरुले पैसा दिएर राखेको शिक्षिकाले आफ्नै नानीहरुलाई कुट्ने भन्दै शिक्षिकालाई बर्खास्त गर्न माग गरे ।
कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा तीनजना शिक्षकको मात्रै दरबन्दी छ । बाँकी निजी स्रोतबाट राखिएका छन् । लक्ष्मी पुन पनि निजी स्रोतकी शिक्षिका हुन् ।
वडाध्यक्ष भीमबहादुर पुन विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनकै पहलमा विद्यार्थीहरुको उपचार गर्ने र शिक्षिकालाई बर्खास्त गर्ने गरी मिलापत्र भयो ।
तर, भोलिपल्ट शिक्षिका पुनले उपचार खर्च पनि दिनुपर्ने, कारबाही पनि भोग्नु पर्ने भन्दै विरोध गरेपछि यो विषय इलाका प्रहरी कार्यालय होलेरीमा पुग्यो ।
प्रहरीले १६ जेठमा गाउँपालिका अध्यक्ष बालाराम बुढा, गाउँपालिकाका शिक्षा हेर्ने अधिकारी, अभिभावक र कुटाइ खाने विद्यार्थी लगायतलाई बोलाएर छलफल गरे । त्यही छलफलका आधारमा विद्यार्थीहरुको चेकजाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । स्वास्थ्यकर्मीले एक्सरे गर्नुपर्ने बताएपछि उनीहरुलाई दाङ झारियो ।
दाङमा एक्सरे गर्दा १४ जनाको हात भाँचिएको पुष्टि भएको हो । शिक्षिका पुनले भने राम्रोका लागि कुटपिट गरेको बताएकी छन् ।
स्थानीयका अनुसार एक वर्षअघि पनि पुनको कुटाइबाट एक विद्यार्थीको कानमा समस्या भएको थियो ।
साभार ः अनलाइनखबर