धरान । डेंगु माहामारीकै रुपमा बढ्दै गएपछि अन्तत धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र नै घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धरानले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले धरानमा ४ सय ७४ जनामा डेङ्गुको संक्रमण भेटिएको बताए ।
दैनिक रुपमा ३० जना डेगु संक्रमित प्रतिष्ठानमा आउने गरेका छन् ।धरानका अन्य अस्पतालमा थप ७१ जना डेंगुका बिरामी उपचाररत रहेको धरान उपमहानगरपालिका प्रमुख सागर प्रसाईले बताए ।
धरानमा सबैभन्दा बढी वडा नम्बर १५ र ८ मा डेंगुका विरामी भेटिएका छन् । ती वडालाई डेंगु संकटग्रत क्षेत्र घोषणा गरिएको छ ।
डेंगु नियन्त्रणका लागि १ करोड
डेंगु नियन्त्रणका लागि प्रदेश १ सरकारसँग १ करोड रुपैयाँ माग गरिएको छ । डेंगु नियन्त्रण, विरामीको उपचार र आवश्यक उपकरण खरिदका लागि प्रदेश १ सरकारसँग १ करोड रुपैयाँ माग गरिएको सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले जानकारी दिए ।
प्रदेश १ का प्रमुख शहरमा डेंगु फैलिएपछि प्रदेश सरकारले नियन्त्रणको प्रभावकारी पहल गर्न सरोकारवाला निकायलाई निर्देशन समेत दिएको छ ।
स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सचेतनासँगै औषधि छर्कने जस्ता काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेची अस्पताल र विराटनगरको कोशी अञ्चल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सचिव दाहालले जानकारी दिए । सुनसरी र मोरङका दुई जिल्लामा संक्रमण फैलिए पनि अहिलेसम्म डेंगुबाट कसैको मृत्यु भने भएको छैन ।