काठमाडौं । गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारी नियुक्त भएका छन । आइतवारको मन्त्रिपरिषद बैठकले भण्डारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठक स्रोतका अनुसार यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरिएको छ ।
साथै, मन्त्रिपरिषदको बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत मागेको छ । उपाध्यायले सरकार विरुद्ध अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए तर सर्वोच्च अदालतले उनको रिट खारेज गरेपछि आज बसेको मन्त्रिपरिषदको बैठकले महाप्रबन्धक उपाध्यायलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
महाप्रबन्धक उपाध्यायले कागज खरिदमा अनियमितता गरेको भन्दै उनिमाथी छानविन चलिरहेका बेला उनले उल्टै सरकार बिरुद्ध अपहेलनाको मुद्धा दायर गरेका थिए ।
अब पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार बढि
पत्रकारको पारिश्रमिकमा २५ प्रतिशतले बृद्धि गर्दै अब न्युनतम पारिश्रमिक २४ हजार ३ सय हुने भएको छ । मन्त्रिपरिषद बैठकका आजको निर्णय अनुसार श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय भन्दा कममा पत्रकारलाई काममा लगाउन नपाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने मन्त्री बास्कोटाको भनाई छ ।
अनलाइन मिडियाको हकमा के हुने ?
पत्रकारको पारिश्रमिक बृद्धीका सवालमा अनलाइन सञ्चारमाध्यमहरुबारे कुनै ठोस निर्णय भएको छैन । बैधानिक रुपमा संचालन भएका अनलाइन संचारमाध्यमहरुले पहिले आफू राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन स्तरको सञ्चार संस्था हो भन्ने आफैले घोषणा गरेपछि मात्रै सोही अनुसार अनलाइन संचारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुको पारिश्रमिक लागु हुने बताइएको छ ।