
काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा खाना पकाउने ग्याँसको अभावबारे सरकारले कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
सोमबार ग्यास उद्योगी र नेपाल निगमका अधिकारीलाई मन्त्रालयमा डाकेर मन्त्री भट्टले ग्याँस सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् ।
“मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्याँसको सिलिण्डर साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस् मन्त्री भट्टले भने, अन्यथा सरकारले सेना र प्रहरी लगाएर भएपनि अभाव सहज बनाउँछ ।”
मन्त्री भट्टले ग्याँस उद्योगीलाई ग्याँस तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया समेत अघि बढाइने बताए ।
“निगमले ग्यास दिएको छैन वा हाम्रा कर्मचारीले असहयोग गरेको छ भने भन्नुस् होइन भने जनताले ग्यास किन पाएनन् जवाफ दिनुस्,” मन्त्री भट्टले उद्योगीहरुलाई भने ।
जवाफमा ग्याँस उद्योगीहरुले उपभोक्ताले ग्याँस मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।
बैठकमा ग्यास उद्योगीका तर्फबाट कृष्णभक्त श्रेष्ठ, धर्मराज बसौला, शिवप्रसाद घिमिरे, महेन्द्र भुसाल, रुद्रप्रसाद कोइराला, हरिप्रसाद पाठक र कुशप्रसाद मल्ली, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहित मन्त्रालयका उच्च अधिकारीहरु सहभागी रहेको मन्त्री भट्टको सचिवालले जनाएको छ ।











