काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको कलेज र गरेको कामको बेलिविस्तार लामो हुन्छ । राम्रो बोर्डिङ् पढेको उसको अग्रेजी अब्बल छ । ऊसँगै अष्ट्रेलिया आएका अधिकांसले पीआर, नागरिकता पाइसके । घर व्यापार, गतिलो जागिर, स्कूल जाने छोराछोरी भैसके, तर ति मित्रको अझै बिहे भएको छैन ।
अष्ट्रेलियमा केहि नेपाली भलाद्मीहरुको कथा पनि चाखलाग्दो हुन्छ । आएको ४ वर्षमै पीआर, ठुलो शहरमा तीन रेष्टुरेन्ट, नेपालीलाई वर्किङ भिसा दिलाएर पनि भलाद्मीले प्रशस्तै कमाए । ठाँटको जिन्दगी । दुईचार व्यापारमा उनले शेयर पनि किने । पाँचवर्ष अघिसम्म साथीभाईलाई पाँच-दश हजार ऋण पनि दिन्थे, तर उनी अहिले नेपालीहरुसँग तर्सिन्छन् । रेष्टुरेन्ट चल्दैनन् । घर व्यवस्थित छैन ।
भलाद्मीलाई अचम्मको बानी लागेछ । घरमा श्रीमती र दुईबच्चा छन् तर उनलाई चिनियाँ, फिलिपिनो, रसियन वा कोरियन किशोरीसँग पैसा तिरेर सहवास गर्ने बानी पर्यो । उनीसँग लामो संगत गरेका एक मित्र सम्झन्छन्, घण्टाको सातसयदेखि हजार डलर तिरेर भाडाको केटीसँग सहवास गर्थे । त्यस्तो ठाउँमा जाँदा उनी साथी पनि लैजान्थे । साथीका लागि पनि पैसा तिर्थे ।
एकमित्र भन्छन् “बुढाले मलाई केटी छानेर सहवास गर्न पैसा दिन्थे, उनी खोपीमा छिरेपछि म त्यहि पैसाले टन्न खाजा खाएर सपिङ गर्थेँ, घर फर्कँदा कति रमाइलो भयो है आज त भनेर उनैलाई उक्साउँथेँ” ।
नेपालीका अरु चर्तिकला पनि छन् । २०१७ को अक्टोबरमा २४ वर्षीय एक नेपाली विद्यार्थी सिड्नीमा पक्राउ परे । आफुले काम गर्ने सपिङ सेन्टरको ट्वाईलेटमा क्यामरा राखेर केटीहरुको गुप्ताङ्ग हेर्ने गरेको उनको कसुर थियो ।
उनी आफैँले मैले क्षमायोग्य गल्ती गरेको छैन भनेर स्विकारे पनि । ६ महिना जेलसँगै उनको भिसा रद्ध भयो । मन परेकी केटी आफुले बोलाएको ठाउँमा नआएपछि आक्रमणको धंम्की दिने अर्का २० वर्षीय नेपाली विद्यार्थी डेढवर्ष अघि पक्राउ परे । अदालतले आचरण सुधार गर्नुपर्ने नसिहत दिएर उनलाई धरौटीमा छोडेको छ ।
वर्षौँ काम गरेर मान्छे सप्रिन्छ तर विग्रिन एकैछिन काफी छ । घरदेखि डाढाको स्वच्छन्द जिन्दगी, साथीको संगत र आफ्नो तलतल । अल्लरे नेपाली युवा चाँडै धनि हुने मोहमा चिठ्ठा वा जुवा खेलेर हजारौं डलरको सपना देख्छन् । अनि थेग्नै नसक्ने गरी जुवा, सुन्दरी, सुरा वा अपराधको संगतमा पुग्छन् पनि ।
जुवाको पासो
अष्ट्रेलियामा जुवाको पासो व्यापक छ । राजमार्गका खाजा खाने पसलदेखि शहरका चोक चौबाटोमा खेल्ने खेलाउने मेसिन छ । हरेक शहरमा आधुनिक जुवाघर छन् । मेसिनमा पैसा छिराएर खेल्ने पोकर, गोट्टी घुमाएर खेलिने, पत्ति फिटेर खेलिने, अनलाईन र अफलाइन जुवा नीकै चल्छ । क्रिकेट, फुटवल, गाडी, घोडा दौडका ठुला प्रतियोगितामा अनलाईनबाटै बाजी थाप्न, जित्न, हार्न पाईन्छ यहाँ ।
अष्ट्रेलिया आउने व्यक्ति आफुभन्दा सिनियर साथीसँग जुवाघर पुग्छ । दुई पाँचसयको गोट्टी किनेर एकदुई सय जित्छ पनि । धेरै पैसा जित्ने आकाँक्षाले जितेको पनि हार्छ । अनि सँगै जुवाघर गएका चिनियाँले हजारौँ डलर जितेको मनगढन्ते कहानी फलाक्दै घर फर्किन्छ । दुख गरेर कमाएको पैसा हारेपछि हुने आत्मग्लानी छल्न दुईचार कहानी बनाउँछ र चित्त बुझाउँछ ।
सहवासको तलतल
अष्ट्रेलियामा पैसा तिरेर सहवास गर्ने ठाउँ शहरैपिच्छे भेटिन्छ । “त्यो चाँहि जान्छ म चाँहि जान्न” अधिकांस नेपाली मित्रले सुनाउँछन् । केहि मित्रहरु सहवास सेन्टरमा स्वास्थ्य सुरक्षामा खुब चासो दिइन्छ भनेर बडो गर्वका साथ दावी गर्दैथिए ।
सुन्दा लाग्थ्यो कि ति मित्रहरु नियमित सहवास सेन्टर जानेगर्छन् । मेलबर्नमा नेपालको धनी परिवारका एक मित्र भेटिए जसले नेपालबाट कलेजको फिस तिर्न मगाएको पैसाले सहवास गरेको पनि सुनाउन भ्याए ।
“यहाँ एसियन अफ्रिकन मूलको साझेदारसँग सहवास गर्न पाइन्छ” विज्ञापन गरेरै महिला पुरुष दुवैका लागि सेवा दिने सहवास केन्द्र चल्तिमा छन् । अझ अष्ट्रेलिया आएका नेपाली किशोरीले पढाई खर्च जुटाउँन भाडाको सहवासका लागि देशाटन भ्रमण गर्नथालेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । त्यस्ता युवतीहरु दुईचार दिन भाडाको सहवासका लागि घरमै गैदिन्छन् पनि, अष्ट्रेलियामा भेटिने मित्रहरु नेपाली किशोरीको यो भित्री पेशाको पाटोलाई स्विकार्छन् ।
सुराको नशा
अष्ट्रेलियामा नशालु पदार्थ नीकै महँगो छ, खिल्ली चुरोटको डलर भन्दा बढि । नेपालमा बट्टाको अढाईसय रुपैयाँ पर्ने चुरोट यहाँ दुईहजार रुपैयाँ बराबर पर्छ । मान्छेहरु के कम, आफैँले बनाएर चुरोट तान्छन् । मुख्य सहरको फुटपाथमै फिल्टर, कागज र सुर्ति आफैँले बेरेर चुरोट तानीरहेका मान्छे सराबरी भेटिन्छन् । जाँड रक्सी पनि नेपाल भन्दा तीन गुना बढि महँगो पर्छ ।
गाँजा, चरेसलगायत नशालु पदार्थको व्यापार गैरकानुनी हो, तर युवाको यस्तो जालो छ, जसले २० डलरमा गाँजाको पोको बेच्छ । बा, आमा र श्रीमती साथै रहेका एक मित्र भेटिए जो लगभग एकदिनको फरकमा बीस डलरको गाँजा किन्छन् ।
उनले फुर्ति लगाए “हेर्नोस् अष्ट्रेलियामा दुख भुलाउने खत्रा जडीबुटी यहि हो” । उनले थपे “के नाई भनेको, क्यानाडाले त गाँजालाई जडिबुटी भनेर खुल्ला गरिसक्यो” गाँजा तान्नु राम्रो हो भनेर फुर्ति लगाउन उनले गाँजाबारेका विश्वसमाचार कण्ठै पारेका रछन् ।
तर, अष्ट्रेलियामा सवै नेपाली जुवा, सहवास वा नशामा बरालिएका छन् भन्न खोजेको पक्कै होइन । उच्चतम प्रगती गरेका नेपालीको सख्या धेरै छ यहाँ । अपारको व्यापार व्यवसाय गरेर भारतीय, चिनियाँ, अजीहरु भन्दा ठाँटको जिन्दगी बाँचेका नेपाली प्रशस्तै छन् । नेपालीले आईटी, इन्जिनियरिङ, रियलस्टेट, टुरिजम लगायतमा नीकै राम्रो काम गरेका छन् ।
तर उदेक लाग्दो कुरा, क्यासिनो गएर जुवा खेल्ने, बाजीमा हार्ने, लतमा लागेर पढाई विगार्ने र स्थायी वासको व्यवस्था गर्न नसक्ने नेपालीसँग पनि बेलाबेला कुम जुधीरहन्छ ।
सुझाव
छोराछोरीलाई अष्ट्रेलिया पढ्न पठाउँदा जोडी बाँधेर पठाउनु तुलनात्मक रुपमा राम्रो । काम गरेर कलेजको पैसा तिर्न सजिलो । एकले अर्कोलाई बिग्रिन वा बरालिन रोक्ने सम्भावना धेरै । घरदेखि टाढा रहेको बेला आफन्तको यादमा एक अर्कोलाई अंगालो हालेर रुन वा हाँस्न पनि सजिलो । हिजोआज यसमा पनि विकिृति थपिएको छ ।
कसिलो समाजबाट बिहे गरेर आएका नेपाली जोडीले सम्बन्ध बिच्छेदको शिलशिला बढाइरहेका छन् । हुँदाहुँदा, यहाँको सरकारी कार्यालयमा आफु बिबाहित हुँ मात्रै भनेर पुग्दैन । दुईजना सँगै बसिन्छ कि बसिँदैन? भन्ने प्रश्न तत्कालै आउँछ । भिसा दिने अधिकृतले घरझगडा पर्न थालेको त छैन नि ? तिमीहरु अझै कम्तिमा दुईवर्ष सँगै बस्न त सक्छौ? भनेर प्रश्न गर्न थालेका छन् । -mntv
– अजी अधिकारी aussie.adhikari@gmail.com