
डोटी । कोरोना परीक्षणमा प्रयोग गरिने किट नहुँदा धेरै ठाउँमा कोरोना परीक्षण रोकिएको छ । किट नपुगेकाले परीक्षण गरिरहेका ठाउँमा बीचैमा परीक्षण बन्द गर्नु परिरहेको छ ।
त्यस्तै डोटीमा किट अभावमा कोरोना परीक्षण रोकिएको छ । डोटीमा धेरै व्यक्ति भारतबाट आएका छन् । किट नहुँदा भारतबाट आएका दुई हजार ४ सय ४४ जनाको परीक्षण रोकिएको बताइएको छ ।
गएको चैतमा भारतबाट आएका चार हजार ५ सयमध्ये एक हजार ७ सय १९ जनाको आरडिटी र ३ सय ३७ जनाको पिसीआर परीक्षण रोकिएको छ ।
त्यस्तै भारतबाट आएकामध्ये बाँकी रहेका दुई हजार ४ सय ४४ जनाको कोरोना परीक्षण पनि रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
डोटीमा गएको विहिबारदेखि नै किट अभाव हुँदा कोरोना परीक्षण बन्द भएको छ । किट नभएपछि अहिले शङ्कास्पद बिरामीको समेत कोरोना परीक्षण रोकिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसीआर मेसिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । तर आवश्यक सामग्री तथा किट नहुँदा हाल कैलालीमा मात्रै पिसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।








