
बझाङ । आरडिटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका बझाङका सात जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका बझाङको बित्थडचिर गाउँपालिकाका ७ जनाको आरडीटी गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी धनगढी प्रयोग शालामा पठाइएको थियो ।
प्रयोशालामा आइतबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । त्यस्तै बित्थडचिरका एक र बुगंल नगरपालिकाका १२ जनाको पीसीआर रिर्पोट भने आउन बाँकी रहेको छ ।
उनीहरुको पनि यसअघि आरडिटी रिपोर्ट पोजिटिभ आएको थियो । भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हजारौंको संख्यामा रहेका छन् । उनीहरुलाई क्वारेन्टाइन अवधि सकिएपछि घर पठाउने बेला आरडिटी परीक्षण गर्ने गरिन्छ ।








