
काठमाडौं । बुधबार राति आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेमा ठूलो धनजनको क्षति भएको छ । उक्त क्षतिको अवलोकनका लागि काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बीच बाटोबाटै फर्किएको छ ।
विहीबार काठमाडौंबाट उडेको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो । नेपाली सेनाको हेलिकप्टर अहिले त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, प्रहरी र स्थानीयले काम गरिरहेका छन् । अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । त्यस्तै १५ वटा घर बाढीले बगाएको छ । तीन जना घाइतेको भने उद्धार गरिएको बताइएको छ ।
बाढीले राजमार्ग अवरुद्ध हुनुका साथै मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बाढीले बेपत्ता छन् ।










