
मोरङ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान कार्यकक्षमै दुईजना महिला कर्मचारीले कुटपिट गरेका हुन्।
कुटपिटमा संलग्न नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुले कार्यालयमा पुग्न साथ सञ्जेलको कार्यकक्षमा प्रवेश गरेर भित्रबाट ढोकाको चुकुल लगाई कुटपिट गरेको प्रहरीले बताएको छ ।
करारका कर्मचारीका रुपमा कार्यरत रहेका उनीहरुले उपसचिव सञ्जेलमाथि चप्पल, पञ्चिङ मेसिन लगायतले प्रहार गरी कुटपिट गरेको पाइएको प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
सरकारी निकायहरुमा हुने भ्रष्टाचारको खरो विरोधी भएर चर्चा पाएका सञ्जेललाई योजना बनाएरै आक्रमण भएको प्रहरी आशंका छ ।
कुटपिटबाट सञ्जेलको अनुहार लगायतका अँगमा चोट लागेको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । कुटपिट किन गरियो भन्नेबारे अहिले नै जानकारी हुन सकेको छैन् ।










