
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुटुक्क काठमाडौको बल्खु र कालीमाटी तरकारी बजारको छड्के अनुगमनमा पुगेका छन् ।
सोमबार बिहान कालीमाटी र बल्खु फलफूल तथा तरकारी बजारको छड्के अनुगमन गर्दै मन्त्री भट्टले बजारको भिड तत्काल व्यवस्थित नगरे कारबाही गर्ने कडा चेतावनी समेत दिएका छन् ।
अनुगमनका क्रममा तरकारी तथा फलफूलको मूल्य बढाइएको, सामाजिक दूरी कायम नगरिएको, मास्क नलगाएको र भिडभाड पाइएकाले त्यसबाट संक्रमणको उच्च जोखिम हुने भन्दै मन्त्री भट्टले तत्काल सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
बजारको अवस्था देखेपछि मन्त्री भट्टले सुरक्षाकर्मीलाई सामाजिक दूरी कायम गराउन, मास्क तथा स्यानिटाईजरको प्रयोग गराउन तथा अटेरी गर्नेलाई कारबाही गर्न निर्देशन समेत दिएका थिए ।
मन्त्री भट्ट बिहानै ५ बजे कालीमाटी र त्यसपछि बल्खु बजार पुगेर अनुगमन गरेका थिए ।










