
काठमाडौं । निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार ललितपुरको पुल्चोकमा स्थानियले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोजेपछि झडप भएको छ । प्रहरीले स्थानियलाई रथ तान्न रोकेपछि झडप भएको हो ।
झडपमका क्रममा युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोरोना महामारीका बेला ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि उनीहरुले कुटपिट गरेका हुन् ।
प्रहरीले रथ तान्न रोकेपछि यसौंको संख्यामा रहेका युवाहरुको समूहलाई तिरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।
त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरी जवानलाई केही युवाले ढुंगामुडा प्रहार गर्दै निर्घाट कुटपिट गरेका छन् । घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेका छन् ।
कुटपिटबाट घाइते भएका घिमिरेको अल्का अस्प्तालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको टाउको र हातमा चोट देखिएको छ ।
कोरोना महामारीका बेला पनि रात दिन नभनि काम गरिरहेका प्रहरी जवनामाथि नै यसरी कुटुपिट भएको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गरेका छन् । समाजिक सञ्जालमा सुरक्षामा खटिएका प्रहरीमाथि ज्यानै लिनेगरी भएको कुटपिटको चर्को विरोध भइरहेको छ ।
डिउटीमा खटिएका सुरक्षाकर्मीलाई कुटपिट गर्नेको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जोसुकैले कुटपिट गरेको भएपनि खोजी गरी कडा कारवाही गरिने बताइएको छ ।
जुनसुकै विपदमा पनि जनताको सुरक्षामा खटिने प्रहरीमाथि यसरी निर्घात कुटपिट गर्नु राम्रो नभएको भन्दै प्रशासनले पनि आपत्ति जनाएको छ ।










