उपत्यकामा आजबाट फुटपाथ,ठेलाको व्यापारसहित खाद्यन्न र बार अनुसार फेन्सी पसल पनि खुले


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि जारी गरिएको लामो लकडाउन र निषेधाज्ञाले गर्दा बन्द भएका सेवाहरु आजबाट खुल्ले निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आजबाट केही सेवाहरु सुरु गर्ने निर्णय गरेका हुन् ।

आजबाट उपत्यकामा फुटपाथ र ठेलाको व्यापार खुला गरिएको छ । नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म दुई पटक खोल्न सकिनेछ । सोही समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिनेछ ।

त्यस्तै उपत्यकामा अत्यावश्कीय वस्तु वा सेवाको पसलहरु पनि बिहान र साझँ खोल्न पाइने निर्णय भएको छ । खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइनेछ ।

उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय पनि सञ्चालन गर्न पाइने भएको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने छ ।
भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइने छ भने फर्निचर र अटो मोवाइल सम्बन्धी पसल सोमबार र बुधबार खोल्न पाइने छ ।

त्यस्तै विवादित होम डेलिभरी र टेक अवे सेवा पनि खुल्ला भएको छ । दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको हो ।

यो निर्णय भदौ ३१ गतेसम्म लागु गरिएको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएपनि नाकामा भने कडाई गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार