
काठमाडौं । यूके (बेलायत) पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका छन् ।
पक्राउ परेका सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाको नागरिक हाल बेलायतमा डाक्टर रहेको भन्दै बेलायतमा रोजगारी खोज्न सहयोग गर्ने प्रलोभन देखाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनले त्यसरी प्रलोभनका पारेका ब्यक्तिलाई पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्ने र सो गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ भन्सार शुल्क चाहिने भन्दै पैसा पठाउन लगाउने गरेको अनुसंन्धानमा खुल्न आएको छ।
प्रहरीका अनुसार पैसा भने सुनिता परिषारको खातामा पठाउन लगाउने गरेका थिए । प्रहरीले उनको खातामा २३ लाख रुपैयाँ भेटेको छ।
उनीहरुविरुद्ध ४ जनाले उजुरी दिएको प्रहरीले बताएको छ । नीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।










