गोवा नेपाली समाजद्वारा मृगौला पीडित कान्छाबहादुर पराजुलीलाई आर्थिक सहयोग हस्तान्तरण


काठमाडौं। भारतको रहेको सामाजिक संस्था गोवा नेपाली समाजले मृगौला रोगबाट पीडित काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका कान्छाबहादुर पराजुलीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आज काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुन र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रा.लि. नेपालगञ्जकी अध्यक्ष एवं प्रगतिशील नेपाली समाज भारतकी केन्द्रीय सचिवालय सदस्य अनु विसीले संयुक्त रुपमा पीडित पराजुलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

गोवा नेपाली समाजले उपचारका लागि संकलन गरेको जम्मा रकम नेपाली रु. २ लाख २२ हजार ४ सय ४८ मृगौला रोग पीडित पराजुलीलाई हस्तान्तरण गरेको हो।

जसमा भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स गोवा समितिका उपाध्यक्ष होमराज केसीको अगुवाइमा समितिको तर्फबाट भारतीय रु. २६ हजार ७७८ र नेपाल समितिबाट भारतीय रु. १० हजार गरि गोवा नेपाली समाजलाई भारतीय रु. ३६ हजार ७७८ (नेपाली ५८,८४४) बुझाएको अध्यक्ष थापा पुनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पराजुलीको उपचारका लागि नेपाल लगायत भारतका विभिन्न ठाउमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका थिए ।

भारतको गोवा लगायत अन्य ठाउमा रहेका नेपालीहरुका दुख पीडा समस्यामा सहयोग गर्दै आएको गोवा नेपाली समाजले पराजुलीलाई पनि उपचारमा सहयोग गरेको अध्यक्ष थापा पुनले बताए । सामाजिसंजाल मार्फत पीडित सम्पर्कमा आएका र त्यसबारे बुझ्न आफु गोवाबाट काठमाडौं आएर बिरामी भेटेपछि आर्थिक सहयोग संकलनको थालनी भएको उनले बताए ।

भारतको गोवामा रहेर आफुहरुले समस्यामा परेका नेपालीहरुलाई सकेको सहयोग गर्दै आएको जानकारी पनि दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष विसीले पराजुलीको उपचारका लागि आफुहरुले गरेको सहयोगले केहि राहात भएपनि उनको जिवन रक्षाका लागि सरकारले नै सहयोग गर्नु पर्नेमा जोड दिइन् । भारतको बुम्बई नासिकमा रहेर आफुहरुले नेपालीहरुका विभिन्न समस्या समाधानका लागि काम गरिरहेको बताईन् ।

वैदेशिक रोजगारीमा गएका बेला सात बर्षअघि बिरामी भएर घर फर्किएका पराजुलीको मृगौलाले काम नगरेपछि उनि थला परेका थिए । काठमाडौंका विभिन्न अस्पतालहरुमा स्वास्थ्य जाँच गर्दा सुरुमा रोग पत्ता लगाउन नै धेरै पैसा खर्च भएको बताउँदै पराजुलीले अहिलेसम्म आफ्नो उपचारमा सम्पुर्ण सम्पत्ती सकिएको बताए । भक्तपुर मृगौला प्रत्यारोपण केन्द्रमा डायलाशिस गराइरहेका पराजुलीले आफुले औषधी किन्न समेत नसक्ने अवस्था रहेको बताए ।

उपचारका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरुले सुझावअनुसार आफु नै मृगौला दिन तयार रहेको भएपनि खर्चको अभावले गर्न नसकेको पराजुलीकी श्रीमती सुष्माले बताईन् । श्रीमानको जिवन रक्षाका लागि सरकारदेखि विभिन्न निकायमा सहयोगको याचना गरेपनि सहयोग नपाएको उनले गुनासो गरिन् ।

पराजुली दम्पती माओवादी जनयुद्धका पूर्व लडाकु समेत हुन् । सरकारले उपचारका लागि विभिन्न आश्वासन दिएपनि नगरेको उनिहरुको गुनासो छ ।

डाक्टरहरुले बताएअनुसार मृगौला प्रत्यारोपणका लागि करिब २० लाख खर्च लाग्ने सुष्माले बताईन् । अहिलेसम्म उपचार गर्दा आफुसंग भएको सबै सर सम्पत्ती सकिएकाले श्रीमानको जिवन रक्षाका लागि आर्थिक सहयोग गर्दिन उनले अपिल समेत गरेकी छन् ।
पीडित पराजुलीले आफ्नो उपचारका लागि रकम संकलनमा सहयोग गर्ने गोवा नेपाली समाज लगायत सहयोगी सम्प्पुर्णलाई धन्यवाद ज्ञापन गरेका छन्।

पीडित पराजुलीको उपचारमा भइरहेको कठिनाइका बिषयमा अनमोलपोस्टले समाचार प्रकाशन गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार