
काठमाडौँ । पूर्वसंचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एकजनलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेको प्रहरीले जनाएको छ ।
भक्तपुरको मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० बर्षीय गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो। गुरुङमाथि अहिले वयान र अनुसंनधान भइरहेको छ । बुधबार बिहान उनको भक्तपुरको लोकन्थलीस्थित घरमा भएको बम विस्फोटको जिम्मा विप्लव समुहले लिएको थियो ।
घटनास्थलमा भेटिएको पर्चा अनुसार बाँस्कोटालाई मन्त्री पदमा रहँदा विभिन्न परियोजनामा अरवौं घुस लगायतका दशवटा आरोप रहेका छन् । सोही आरोपमा कारवाही स्वरुप बम विस्फोट गरिएको बतायएको छ ।
बुधबार बिहान साढे ७ बजे भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधिन घर, एउटा भ्यान र छिमेकमा रहेका अन्य तीन वटा घरमा क्षति पुगेको छ।










