
काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि सरकार र नागरिकस्तरबाट विभिन्न उपायहरु अपनाइदैछ ।
कोरोनाको उच्च जोखिम नेपालमा पनि भएकाले त्यसलाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ ।
विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँ–ठाउँमा हात धुने व्यवस्था गरेका हुन् । चिकित्सकका अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकोले ठाउँ–ठाउँमा हात धुन पानी र साबुनको व्यवस्था गरिएको हो।
चन्द्रागिरी नगरपालिकाले पनि उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाएको जनाएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यलय अगाडि हात धुने व्यवस्था मिलाउँदै चन्द्रागिरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष खड्काले कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन निर्माण गरी उपत्यकाका विभिन्न ठाउँमा राखिएको बताए ।
उनका अनुसार नगरपालिकाले आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा हात धुने व्यवस्था मिलाएको हो । कोरोनाको संक्रमणबाट बच्नका लागि उपत्यकाका बाहिर पनि विभिन्न जिल्लामा हातधुने ब्यवस्था मिलाइदैछ ।










