
काठमडौं । स्वास्थ्य सामग्री खरिदमा भएको अनिमियतताबारे छानविन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले माग गरेको छ ।
भ्रष्टाचारबिरुद्ध खबरदारी गर्दै आएको उक्त संस्थाले आइतबार एक विज्ञप्ती जारी गर्दै सरकारले चीनबाट खरिद गरेका स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितताबारे छानविन गर्न माग गरेको हो ।
टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीद्धारा जारी विज्ञप्तीमा भनिएको, “आज मुलुकले यस राष्ट्रिय विपदसंग लड्न सरकारलाई पुर्णरुपमा साथ र सहयोग दिइरहेको अवस्थामा आपतकालिन संवेदशिलताको दुरुपयोग गर्दै राजनीतिक नेतृत्व तहकै संलग्नतामा अति आवश्यक स्वास्थ्य सामाग्रहरुको खरिद प्रकरणमा राष्ट्रघाति कमिसनखोरहरुसंग साँठगाँठ गरी राज्यकोषको चरम अपचलन गर्ने दुष्प्रयासको संचारमाध्यम तथा नागरिक समाजले उजागर गरेका छन् । यस खरिद प्रकरणमा गलत नियत थियो भन्ने कुराको प्रष्ट्याई सरकारको सोसम्बन्धि पछिल्लो निर्णयले नै गरेको छ ।”
टीआर नेपालले राष्ट्रिय संकटका बेला रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तह समेतका सबै पदाधिकारीमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही गर्न प्रधानमन्त्री र अख्तियारस्ँग जोडदार माग समेत गरेको छ ।
महंगोमा स्वास्थ्य सामाग्री खरिद गरेको भन्दै चर्को आलोचनापछि सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको थियो । त्यसपछि मन्त्रिपरिषदमा छलफल नै नगरी जीटुजीमार्फत खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । यसबारे पनि विवाद भइरहेको छ ।
हाम्रा भिडियो सामाग्री पनि हेर्नुहोस












