सीमामा थप कडाई गर्न प्रहरी खटाइने, महत्वपूर्ण संरचनाको जिम्मा सेनालाई

काठमाडौं । सरकारले सीमा नाकालाई थप कडाई गर्न प्रहरीलाई खटाउने तयारी गरेको छ । भारतसँग सीमाना जोडिएको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि सरकारले सीमा नाकामा प्रहरीलाई सुरक्षामा खटाउने तयारी गरेको हो ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सहभागितामा  गृहमन्त्रालयमा बसेको बैठकले महत्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । सरकारले त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरीलाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सीमा नाकामा खटाउने निर्णय समेत गरेको छ ।

यसअघि निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा खटाउने गरिएको थियो । त्यही नजीरको आधारमा अहिले प्रहरीलाई सीमानामा खटाउन लागिएको मन्त्रालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बादलले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।

थापाले सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार