
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै न्यायाधीशको राजीनामा माग्ने कुरा गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् ।
आज नेपाल तरुण दलले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले परमादेश जारी गरेर राष्ट्र, लोकतन्त्र र संविधान बचाएको बताएका हुन् ।
‘ओली जीले जुन संसद भंग गरे त्यसको खिलापमा परमादेश जारी गरेर नेपालको संविधान बचाएको छ, प्रजातन्त्र बचाएको छ । त्यस कारण ओली जीले जथाभावी बोल्ने काम छैन् । उहाँले कुरा बुझ्नुपर्छ । परमादेशले राष्ट्र बचाएको छ, प्रजातन्त्र बचाएको छ । त्यसैले परमादेश ल्याउने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन’, प्रधानमन्त्री देउवाले भने ।
देउवाले संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै त्यसको विरोध नगर्न अध्यक्ष ओलीलाई सचेत समेत गराएका छन् । हिजो मात्रै ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।










