
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गर्नुपर्नेमा जोड दिएकी छन् ।
महिलामाथिका सबैखाले विभेद र हिंसाको अन्त्य गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा उनको जोड छ ।
११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदैं महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने कामना गरेकी छन् ।
परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको राष्ट्रपति भण्डारी बताएकी छन् ।








