
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशमा अप्ठयारो पर्दा सम्हाल्ने भनेकै माओवादी केन्द्र भएको बताएका छन् । विगतमा पनि देशलाई अप्ठ्यारो परेको बेला माओवादीले नै सम्हालेको र आउँदा दिनमा पनि सम्हाल्ने उनको भनाई छ ।
काठमाडौंमा आज आयोजित रिपोर्टस् क्लबको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा पछिल्लो समय एमसीसीले अप्ठ्यारोस्थिती ल्याएका बेला पनि माओवादीको अगुवाईमा निकास दिइएको स्मरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेरै जाने बताए।
उनले गठबन्धन बिषेश अवस्थामा बनेकाले देशको हितमा यो लामो समयसम्म जाने समेत बताए । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन आफूहरु प्रष्ट रहेको बताए ।
‘गठबन्धन एउटा बिषेश परिस्थितीमा बनेको हो । हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन भनेर बनाएका हौं, गठबन्धन चाहिँ हामी गठबन्धनकै रुपमा जाने भन्नेतिर नै प्रष्टै छौं । नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि करिब, करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं’, प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको समेत जानकारी दिए। देशको अर्थतन्त्र श्रृलंकाको जस्तो अवस्थामा आई नपुगेको बताउँदे अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको प्रचण्डको भनाई थियो ।
अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समयमै समाधान गरिएन भने भोली गम्भिर संकट आउनेतर्फ आफुहरु सचेत रहेको भन्दै उनले त्यसका लागि गठबन्धन र सरकारकातर्फबाट पहल सुरु भइसकेको बताए ।
अध्यक्ष प्रचण्डले देशमा भएको जनयुद्ध, जनआन्दोलन सफल पार्नमा संचारजगतको ठुलो हात रहेको भन्दै त्यसबाट उपलब्धी भएका गणतन्त्र, संघियता, समावेशीता, धर्म निरपेक्षताको रक्षा गर्दै देशलाई समाजवादतर्फ लैजान पनि संचारजगतको अहम भूमिका रहेने औल्याए ।














