
काठमाडौं । न्याय माग्दै काठमाडौंमा भौतारिरहेकी आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअगाडी आत्मदाहको प्रयास गरेकी छिन् ।
आज दिउँसो राष्ट्रपति भवनअघि शरीरमा पेट्रोल खन्याएर निहारिकाले आत्मदाहको प्रयास गरेकी हुन् । प्रहरीले उनलाई आत्मदाहबाट बचाउँदै पक्राउ गरेको छ ।
आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै निहारिकाले काखमा बालक च्याप्दै केहि दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएकी छन् ।
राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै माइतीघरमा अनसनसमेत बसेकी थिइन् । निहारिका गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि पक्राउ परेकी थिइन् ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।
तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ । आफुलाई न्याय दिलाउने कुरामा विभिन्न षड्यन्त्र हुने गरेका भन्दै न्यायका लागि उनि काठमाडौं आएकी हुन् ।













