उपेन्द्र यादव भन्छन्ः ‘गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेकाले मैदानमा उत्रिएको हुँ’


बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदबार उपेन्द्र यादवले प्राप्त उपलब्धीको रक्षा गर्न लडाईको मैदानमा उत्रिएको बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ का उम्मेदवार यादवले आज महागढीमाईमा आयोजित गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्दै जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रतिगमनकारीहरुबाट प्रहार भइरहकोले त्यसको रक्षाको लागि आफु मैदानमा उत्रिएको बताएका हुन् ।

ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, र मधेश विद्रोहबाट प्राप्त उपलब्धि समाप्त पर्ने खेल भइरहेकोले तिनै उपलब्धि रक्षाको लागि म लडाईको मैदानमा उभिएको हुँ, त्यसमा बारा २ का आमजनताको दरिलो साथ पाउने आस राखेको छु, अध्यक्ष यादवले भने ।

बारा २ का जनता परिर्बतन र विकासको पक्षमा रहेकाले निर्धक्क भएर छाता चिन्हमा मतदान गर्नेमा आफु ढुक्क रहेको समेत बताए।
जनताले चिहान पुर्याएको राजतन्त्रलाई फेरि केहि प्रतिगमनकारीहरुले फर्काउने दिवा सपना देखिरहेकाले त्यसलाई परास्त गर्न सत्ता गठबन्धन बनेको अध्यक्ष यादवको भनाई थियो ।

बारा क्षेत्र नंं २ का विभिन्न गाँउहरुमा अझै पनि जनताको अवस्था अत्यन्तै दयनीय, गरिबी, अशिक्षा र बेरोजगारी रहेकाले त्यसको समाधान गर्नु आफ्नो पहिलो एजेण्डा रहेको उनले बताए । कृषि क्षेत्रमा आर्थिक सबलिकरणका लागि किसानलाई सिचांई र मल खादको ब्यवस्था बेलैमा हुनुपर्नेमा उनले जोड दिए ।

उम्मेदवार यादव मधेसको अधिकारका लागि लामो समयदेखि लड्दै आएकाले उनको पक्षमा जनलहर बढ्दै गइरहेकाले जित सुनिश्चत रहेको बागमती प्रदेशका पार्टी सचिव अजय निरालाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार