
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने बताएका छन् ।
मोरङको विराटनगरमा पत्रकारसंग कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका हुन् ।
उनले भारतले नेपालको भूमी समेटेर आफ्नो सांस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार प्रयोग गर्ने बताएका छन् । भारतले हालै नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरलाई समेटेर आफ्नो सांस्कृतिक नक्सा संसद भवनमा राखेको छ । जसलाई लिएर नेपालमा संसददेखि सडकमा विरोध भइरहेको छ ।
नेपाली भूमी समेटेर जारी नक्साबारे प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भारतीय सरकारसंग स्पष्ट रुपमा जवाफ नमागिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ । परराष्ट्रमन्त्रि एनपी साउदले भारत भ्रमणमै रहेका बेला भारतीय संचारमाध्यमलाई अन्र्तवार्ता दिदै नक्साबारे आफु जानकार नभएको बताएका थिए । उनको उक्त अभिब्यक्तीलाई लिएर संसदमा विपक्षी दलहरुले उनको राजीनामा समेत मागेका छन् ।
नेता थापाले पत्रकारसंगको कुराकानीमा नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले छोड्नु पर्ने र बंगलादेश जाने बाटो दिनुपर्ने समेत बताएका छन् ।
नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन नसक्ने उनको भनाई छ ।
थापाले अहिलेको गठबन्धनमा सबभन्दा ठूलो दल कांग्रेस सरकारमा रहेकाले यो गठबन्धनको विकल्प खोज्नुपर्ने कुनै कारण र अवस्था नरहेको समेत स्पष्ट पारे ।
उनले फरक प्रसंगमा कांग्रेस सदनभित्र सबभन्दा ठूलो दल भएको र स्थानीय तहमा पनि सबभन्दा बढी जितेको अवस्थामा पनि कांग्रेसभित्र व्यापकह असन्तुष्टि र आक्रोशले पार्टी धराशयी हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे ।











