काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नभएको बताए ।
नेकपा एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाईआज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीमा रहेर गुटबन्दी र विभाजन गर्नेहरुलाई कुनै ठाँउ नभएको बताएका हुन् ।
‘पार्टीभित्र रहेर फाटो ल्याउने, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ छैन । आन्तरिक सङ्घर्षका लागि पनि पार्टीमा कुनै ठाउँ छैन् तर छलफल र विचार विमर्श गर्न भने पाइन्छ’, ओलीले भने ।
अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैजान नेता, कार्यकर्तालाई सुझाव समेत दिए। विगतमा पार्टीभित्र एकता भएकै कारण सिध्याउँछु भनेर लागेहरु पनि असफल भएको ओलीको भनाई छ । उनले पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने बताए । अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै एमाले देशको राष्ट्रिय शक्तिका रुपमा उदाउनु पर्नेमा जोड दिए ।
नेतृत्वलाई बदनाम गरेर पार्टीभित्र विभाजन ल्याउन विरोधीहरुले स्यालहुँइया मच्चाएको समेत उनले बताए ।