
काठमाडौँ । गणतन्त्र आएपछि पहिलो पटक नेपाली सेनामा सिख समुदायको प्रतिनिधित्व भएको छ । बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय करण सिंह सिख नेपाली सेनाको जवान भएपछि सेनामा सिख समुदायको प्रतिनिधित्व भएको हो ।
उनले अछामस्थित गोरखबक्स गणबाट तालिम सम्पन्न गरि शुक्रबार आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् ।
करण सिख समुदायबाट पहिलो सैनिक जवानको रूपमा दीक्षित भएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी गराएका छन् ।
करणको कार्यक्षेत्र कपिलवस्तुको गोरुसिङ्गे स्थित शमशेर दल गणमा हुने समेत प्रवक्ता बस्नेतले बताए । करणको धर्म र आस्थालाई सम्मान गर्नेगरी सैनिक आचार संहिता व्यवस्थापन गरिएको सहायकथरी को भनाई छ ।
प्रवक्ता बस्नेतकाअनुसार सिख धर्म मान्ने करणले आफ्नो धर्म अनुसारको विधि मान्न पाउनेछन् । उनले अरु सैनिकले जस्तो दाह्री कपा काट्नुपर्ने छैन् ।
नेपालको संविधानमा उल्लेख भएअनुसार राज्यका हरेक संरचनालाई समावेशी र समानुपातिक बनाउनु पर्ने राज्य संचालकहरुको कर्तव्य हो । गणतन्त्र आउनु अघि सेनामा सिख समुदाय लगायत अन्य समुदायलाई भर्ना लिनुपर्ने ब्यवस्था थिएन् ।










