जुम्ला । जुम्लामा आफैले भोट दिएर जिताएका वडा अध्यक्षलाई गाँउलेले रामधुलाई गरेका छन् । जिल्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि गाँउलेहरुले कुटपिट गरेका हुन। गाँउको जडीबुटी चोरी निकासीे गरेको आरोपमा गाँउलेहरुले वडाध्यक्ष रावतलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
वडाध्यक्षमाथी कुटपिट भइरहेको खबर पाएलगत्तै घटनास्थल गएको प्रहरीको टोलीलाइ पनि गाँउलेहरुले लखेटेका छन् । गाउँमा विवाद, दुख समस्या परेको समयमा बोलाएर पनि नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा तुरुन्त गाउँ आएको भन्दै गाँउलेहरुले प्रहरीलाई लखेटेको स्थानीयको भनाइ छ ।
गाँउको बागजाले सामुदायिक वनमा रहेको जडीबुटीको चोरी निकासी गरेको झुटो आरोप लगाउदै लुमगाउँका स्थानीयले आफुमाथि हातपात गर्दै कपडा च्यातिदिएको वडाध्यक्ष रावतको गुनासो छ।
तर, स्थानीयवासीले जडीबुटीको चोरी निकासी गर्ने वडाध्यक्ष चाहिदैन भन्दै उनिबिरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा मागेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी ९खिरौँला० चोरी निकासीमा वडाध्यक्ष रावतको प्रत्यक्ष सहभागिता रहेको स्थानीयवासीको आरोप छ ।
वडाध्यक्ष रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताउदै आएका छन् । उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेको गुनासो गरे ।










