‘धर्म र संस्कारले दलित विभेदमा,

काठमाडौं । दलितलाई धर्म संस्कारले विभेदमा पारेको एक कार्यक्रममा सहभागीले बताएका छन् । काठमाडौंमा ‘बुद्ध अम्बेड्कर जागरण मिसन’ द्धारा आयोजित “हिन्दू धर्मको जात व्यवस्था तथा दलित समुदायमाथि यसको प्रभाव” बिषयक अन्तरकृया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
नेपाली समाजमा दलित समुदायले खेप्दै आएको विभेद र छुवाछूतको कारण धर्म र सामाजिक संस्कार रहेकाले त्यसमा सुधारको खाँचो रहेको कार्यक्रमका सहभागीहरुको धारणा थियो ।
कार्यक्रमका प्रमुख अथिति रहेका अन्वेषक, किस्टन युनिभर्सिटी लण्डनका डा. मित्र परियारले दलितहरुलाई नेपाली समाजमा धर्मका नाममा विभेद र अन्याय हुँदै आएकाले त्यसलाई त्याग्न सकेमात्रै विभेदबाट मुक्त हुन सकिने धारणा राखे ।
युरोपमा समेत नेपालीहरुबीच जतिय विभेद रहेकाले नेपाली समाजमा जातिय विभेद र छुवाछूत धर्मबाटै सुरु गरिएकाले त्यसको अनत्य हुन जरुरी रहेको बताए । मानवता र समानताका लागि बुद्धले देखाएको मार्ग र जातिय विभेद अन्त्यका लागि बाबा अम्बेडकरको बिचारलाई पछ्याउन डा.परियारले आग्रह समेत गरे ।
कार्यक्रममा अर्का प्रमुख अथितिका रुपमा बोल्दै पुर्व मन्त्री एवम् बौद्ध प्रज्ञावान् डा. केशव मान शाक्यले दलित लगायत अन्य पछि पारिएका जाति, समुदायमाथी एकल धर्म र जातले बर्षौदेखि शासन गर्दै आएकाले त्यसबारे गम्भिररुपमा सोच्ने बेला आएको बताए ।
नेपालमा अहिले पनि जनसंख्याको आधारमा राज्यका हरेक निकायमा प्रतिनिधित्व हुन नसकेकाले त्यसमा सबैको ध्यान जान आवश्यक रहेको औल्याए । डा. शाक्यले समाजमा धर्मका नाममा दलितमाथि रचम विभेद र अमानविय ब्यवहार हुँदै आएकाले त्यसका बिरुद्ध एकताबद्ध हुँदै संघर्ष गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपस्थित डा. लक्ष्मी तामाङले जातिय विभेद र छुवाछूतको जड भनेकै नेपालमा धर्म भएकाले त्यसबाट मुक्त भइ मानविय ब्यवहार र सोंचलाई नै धर्म ठानेर अघि बढ्नुपर्नेमा जोड दिए।
विभिन्न अधिकारकर्मी, बुद्धिजिवी, सामाजिक अभियान्ता, संचारकर्मी लगायत सय भन्दा बढिको उपस्थिती रहेको कार्यक्रममा सहभागिहरुले धर्म र संस्कारबाट उत्पन्न जातिय विभेद र छुवाछूतबाट मुक्ती पाउन शिक्षित हुँदै एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए । जातिय विभेद अन्त्यका लागि एकपल्ट सिंगो दलित समुदाय कडा संघर्षमा उत्रिनुपर्नेमा सहभागिहरुको जोड थियो ।
 
त्यस्तै कार्यक्रमको सभापत्वि गरेका दलित अभियान्ता, दलित बुद्धिजिवी चन्देश्वर दासले मनुस्मृती लगायत अन्य धार्मिक ग्रन्थहरुमा दलितमाथि विभेद र अमानविय ब्यवहार गर्न प्रेरित गरेको दाबी गरे । समाजमा हावी रहेको ब्राह्मणवादले दलितलाई सदियौंदेखि थिचिरहेकाले त्यसको बिरोधमा उत्रनुको विकल्प नरहेको उनले बताए ।
नेपालमा धर्मको आडमा एक जातले मात्रै राज्य संचालन गरिरहेकाले दलित लगायत अन्य पछि पारिएका जाति, समुदाय एकजुट भएर त्यसको बिरुद्धमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजीकरण गरेका बुद्ध अम्वेडकर जागरण मिसनका अध्यक्ष कमला हिमचुरीले जातिय समानताका लागि बुद्धको दर्शन र बाबा अम्बेड्करको बिचारलाई आत्मसाथ गरेमा दलितहरुले भोग्दै आएको जातिय विभदको समस्या धेरै हदसम्म समाधान हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार