
काठमाडौं । काठमाडौंमा बसेर बैंकहरुबाट करोड पैसा लुट्ने चिनियाँ लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।
हिजो (शनिवार) मात्रै काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिनबाट पैसा झिक्ने क्रममा एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि लुटेराहरुको ग्याङ्ग पत्ता लागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चिनियाँ लुटेरा बसेको होटलबाट अन्य उनकै ४ जना सााथीहरु पनि प्रहरी पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षिय लु जियालिङ, ३५ वर्षिय चेन विन विन, ३२ वर्षिय झु लियाङ आङ, ३० वर्षिय क्यु याङयिङ र २९ वर्षिय लिन जिनमिङ रहेका छन् ।
उनीहरु पाँचै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार उनिहरुबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी पैसासमेत बरामद भएको छ ।
नेपाल राष्ट्र बैंक जनाए अनुसार केहि दिन यता १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको थियो । तर, राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको जनाएका छन् ।

एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेपछि बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन्।
चोरी गर्दागर्दा थाहा पाएकाले ठूलो नोक्सानीबाट जोगिएको उनको भनाई छ । एटीएमबाट चोरी भएको रकम कुनै व्यक्तिगत खाताबाट नभएको उनले बताए । यदि व्यक्तिगत खाताबाट नै रकम निकालिएको भए पनि बैंकले बेहोर्ने भन्दै निक्षेपकर्ताले नआत्तिन उनले आग्रह गरे।















