प्रधानमन्त्रीले भने, ‘लोकतन्त्रमाथि खतरा भए ‘बघिनीको शैली’ मा प्रस्तुत हुन्छु’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए ‘बघिनीको शैली’मा सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्।
बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले भने, “केही व्यक्तिहरू जसरी पनि अहिलेको ब्यवस्थालाई कमजोर पार्ने र लोकतन्त्रमाथी हमला गर्ने प्रयासमा लागि रहेका छन, सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने छ, यो उनिहरुलाई सरकारको चेतावनी हो ।”

“जब आफ्ना डमरुमाथि खतरा आउन थाल्छ तब बघिनी चुपै लागेर बस्दिन र उसले डरलाग्दो रुप धारण गर्छे। लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जब खतराको थोरै संकेत पनि मिल्छ तब सरकार बघिनी झै प्रतिकारमा उत्रनेछ”, प्रधानमन्त्री ओलीले भने ।

लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि जनताले दिएको बलिदानीलाई खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।
भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन उनले सचेत पनि गराए।

३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न बहानामा पैसा थप्ने काम नगर्न सहरी विकास मन्त्रीलाई निर्देशन दिए।

सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवन सात अर्ब ७३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार