काठमाडौं । खेलमा करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सलाई हराएको छ । सोमबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको हो । खेलमा करणले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरे ।
ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जित हासिल गरेको हो ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो ।
१ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले छक्का र चौका प्रहार गरेपछि नेपालल लक्ष्य भेटायो ।
खेलमा कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए भने अन्य ब्याट्सम्यानहरुले पनि क्रिजमा निकै संघर्ष गरेका थिए । विनोद भण्डारीले २२ बलमा २६ रन बनाए । करन केसीले १४ बलमा ३१ रन जोडे ।
उनले ३.३ ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिए । करणलाई सन्दीप लामिछानेले बलियो साथ दिएका थिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर चार विकेट नै लिए । खेलमा ललित नारायण राजवंशीले एक विकेट लिए । नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।













