आजभन्दा १०४ वर्ष पहिले सुदूरपश्चिमको डोटीमा पर्ने जैनौली गाउँमा द्वारिकादेवी ठकुरानीको जन्म भएको थियो ।
बुवा खरिदार वामदेव पन्त र आमा राधिका पन्तको कोखबाट उहाँको जन्म भएको हो । शिक्षित र समाजसेवी परिवारमा उहाँको जन्म भएकाले समाज सेवा र राजनीतिमा लाग्न उहाँलाई कुनै रोकतोक थिएन । घरपरिवारबाटै उहाँको राजनैतिक यात्रा सुरु भएको थियो ।
अहिले पनि छोरीलाई शिक्षा दिन अनाकानी गर्ने समाजमा उहाँका बुबाले बनारसबाट घरमै पण्डित बोलाएर शिक्षा दिनु भएको थियो ।
सानैदेखि पढाइमा तीक्ष्ण ठकुरानीले, ८ वर्षको उमेरमा नै भागवत गीता र महाभारतका श्लोकहरु कण्ठ पार्नुभएको थियो । आफूले सिकेका कुरा समाजका अरु मान्छेहरुलाई पनि भन्ने, सामाजिक बहस गर्ने, कसैसँग बोल्न नडराउने खालको स्वाभाव थियो ठकुरानीको ।
परिवारका साथै आफूले पनि शिक्षा आर्जन गरिसकेपछि उहाँलाई समाजलाई बुझ्न समस्या भएन र आफ्नो पूर्ण जीवन समाजसेवा र राजनीतिमै समर्पण गर्नुभयो ।
सामाजिक रुपान्तरणकी एक्ली सिपाही
त्यतिबेला समाजमा महिला, दलित, जनजाति र गरिबलाई सम्पन्नले गर्ने अन्याय र अत्याचारका विरुद्ध उहाँ खुलेर बोल्नुहुन्थ्यो । आफू सम्पन्न पनि उहाँले गरिब परिवारको घरमा पुगेर काममा सहयोग गर्ने, गाँउमा सद्भावका लागि विभिन्न सचेतनाका कार्यक्रम गर्नुहुन्थ्यो । गरिबकाे गाेठमा गएर गाेबर फाल्ने काम समेत उहाँले गर्नु भएकाे थियाे ।
यसरी सामाजिक कार्य गर्दै जाँदा उहाँको बैतडीको मेलौलीका उद्धवबहादुर चन्दसँग भेट भयो । र बिस्तारै उहाँहरुबीच चिनजान भएपछि निकटता बढ्दै गयो र वि. सं. १९९२ सालमा विवाह भयो । त्यतिबेला बाहुन र ठकुरीको विवाह हुँदैन थियो तर उहाँले ठूलो साहसका साथ विवाह गर्नुभयो ।
श्रीमान पनि सामाजिक तथा शिक्षासेवी व्यक्तित्व भएकाले उहाँको समाज सेवा तथा राजनीतिक यात्रामा ठूलो सहयोग मिल्यो । दुवै जना मिलेर बैतडीको तल्लो स्वराड क्षेत्रमा वि.सं. २००४ सालमा मणिलेक हाइस्कुलको स्थापना भयो, जुन अहिले स्नातकोत्तर तहसम्म अध्ययन हुने क्याम्पस भइसकेको छ । यसका साथै उहाँहरुले, स्कुल, स्वास्थ्य चौकी, चेक पोष्टसमेत खोल्नुभयो । यस्तै थुपै कामहरु उहाँहरुले गर्नुभयो र सँगसँगै राजनीतिक यात्रालाई पनि अगाडि बढाउदै जानुभयो ।
राजनीतिक यात्रा
सानै देखि राजनीतिमा आस्था राख्ने द्वारिकादेवीले २००३ सालमा पार्टीको सदस्यता लिनुभयो, उहाँका श्रीमान र उहाँ दुवैले विपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभएको हो । त्यसपछि २००७ सालमा प्रजातन्त्रका लागि भएको आन्दोलनपश्चात ४० दिन जेलसमेत बस्नु भयो । श्रीमान पनि राजनीतिक र सामाजिक काममा सक्रिय हुनुहन्थ्यो तर २०१० सालमै श्रीमानको निधन भयो ।
जसबाट केही समय उहाँको कामको गतिमा कमी आयो तर शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने साहस भएकी उहाँले श्रीमानले गर्न चाहेका काम समेत पूरा गर्ने अठोटका साथ फेरि केही समयमै राजनीतिक तथा सामाजिक काम, महिलाहरुको जागरण र दलित तथा समाजमा पछि पारिएका समुदायको उत्थानमा सक्रियताका साथ लाग्न थाल्नुभयो र निरन्तरता दिइरहनुभयो ।
२०१५ सालमा आम चुनाव हुने भयो, त्यतिबेलाको डडेल्धुरा जिल्लाको क्षेत्र नम्बर ६६ मा नेपाली कांगे्रसले द्वारिकादेवीलाई उम्मेद्वार बनायो र उहाँको शानदार जित भयो । जहाँ विपक्षी पार्टीका उम्मेदवार र कांगे्रसबाटै उठेका बागी उम्मेदवारहरुको धरौटी नै जफत भएको थियो । त्यति बेला कांगे्रसले दुईतिहाइ बहुमत पायो, विपी कोइराला पार्टीको संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीसमेत हुनुभयो ।
नेपालको इतिहासमा यो नै पहिलो जननिर्वाचित सरकार गठन भयो । त्यसपछि विपी कोइरालाले द्वारिकादेवीलाई स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन मन्त्रीको जिम्मेवारी दिनुभयो ।
त्यसपछि उहाँले आफ्नै भतिज मिनबहादुर चन्दलाई राजनैतिक सल्लाहकार बनाउनु भयो । स्वास्थ्यमन्त्री भएपछि आफ्नै अध्यक्षतामा नेपाल परिवार नियोजन संघ गठन गर्नुभयो । त्यस्तै डडेल्धुरामा अस्पताल तथा स्वास्थ्य चौकी निर्माण र त्यहाँ दरबन्दी कायम गर्ने तथा थुपै्र हुलाक, र विद्यालयहरु पनि स्थापना गर्न अग्रसरता देखाउनु भएको थियो । वीर अस्पतालको प्रसूति गृह, अस्पतालको स्तरोन्नतिलगायतका कामहरु गर्नु भएको थियो ।
किन पछ्याउने ठकुरानीलाई
जहाँ महिलालाई आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढ्न निकै गाह्रो थियो । घरको ढोकाबाट बाहिर निस्कन मुश्किल हुने समयमा द्वारिकादेवीले गर्नु भएको काम आज पनि हामी सबैको लागि उदाहरणीय छ । त्यति बेला देखि नै उहाँले राजनीतिमा महिलालाई ल्याउनु पर्छ भनेर आवाज उठाउन थाल्नुभयो ।
विस्तारै महिला सहभागिताका लागि पटक पटक भएका आन्दोलनका कारण अहिले राजनीतिमा महिला सहभागिता बढ्दै गइरहेको छ ।
स्थानीय सरकारमा झण्डै ४१ प्रतिशत महिलाहरु निर्वाचित भएका छन्, भने संसदमा पनि ३३ प्रतिशत महिला छन् ।
जुन नेपालको इतिहासकै ठूलो फड्को हो । महिलाको नाममा गठन गरिने विभिन्न सञ्जाल समूह, राजनीतिक प्रतिनिधित्वको सुरुवात गर्ने अग्रजहरुको महत्वपूर्ण भूमिका छ । यस्ता कुराहरुलाई अहिले पनि स्मरण गरिरहनु आवश्यक छ ।
अहिले पार्टी र राज्यले यस्ता महिलाहरुलाई बिर्सिइँदै गइएको छ । तर उहाँहरुकै कारण आज देशमा महिला सशक्तिकरण र प्रतिनिधित्वले विस्तारै पूर्णता पाउँदैछ ।