जनकपुरधाम । गढीमाई मेलाको दर्शन गरी फर्किएको भ्यान महोत्तरीको माईस्थानमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिक ६५ वर्षीया बर्तनीया देवी महतो रहेका छन् । दुर्घटनामा परी घाइते भएका उनीहरुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा दर्जन बढी व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचार भइरहेको छ ।
गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर बुधबार बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।











