काठमाडौं । आसिफ शेखको शतक योगदानमा नेपालले क्रिकेट विश्वकप लिग–२ मा सानदार जित निकालेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तपुरमा भएको खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।
नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो। टस हारेपछि ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अलआउट भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रनको मद्दतमा ४९।१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य लिएर मैदान उत्रिएको पीएनजी ४७।१ ओभरमा २४५ रन बनाउँदै अलआउट भयो ।
आसिफले १ सय १ बलमा १२ चौका र १० छक्का प्रहार गरे । आसिफले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडीमा नाम दर्ज गरेका छन् ।
जितका लागि कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान दिए ।
पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप सापकोटाले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिए ।
त्यस्तै पीएनजीका नोर्मन भानुले सर्वाधिक ६०, ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाए पनि जित दिलाउन सकेनन् ।
जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग टू मा पाँचौ स्थानमा छ । नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक हुनेछ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुनजुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ ।