
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सुतेकै अवस्थामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।
कोठा न्यानो बनाउने भन्दै मकल बालेर सुतेका उनिहरुको निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको डीएसपी कामतीले भने, भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका रहेछन् बिहान श्रीमानले उठाउँदा मृत्यु भएको थाहा पाए ।
बच्चालाई तेल लगाउन भन्दै आज (सोमबार) बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए । डीएसपी कामतीका अनुसार उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । घटनाबारे तथ अनुसंन्धान भइरहेको छ ।











