सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि सुरु हुने, सभामुखमा कसको संभावना ?


काठमाडौँ । केहि महिनादेखि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदका लागि एकसातापछि प्रक्रिया सुरु हुने भएको छ । आज (शुक्रबार) अपरान्ह ४ बजेदेखि शुरु हुने संसदको बैठकलाई पुस ११ गतेसम्मका लागि स्थगित गरी यस बीचमा सभामुख चयनका लागि तयारी गर्ने दलहरुबीच सहमती भएको छ ।

संसद बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठकले अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति जुटाएको हो ।

पुस ११ गतेसम्म सभामुख कसलाई बनाउने भन्नेबारे दलहरुबीच छलफल हुनेछ । त्यसपछि पुस ११ गतेदेखि सभामुख चयन प्रक्रिया अघि बढ्नेछ ।

संसद अधिवेशन र सभामुख निर्वाचनको प्रक्रियालाई लिएर बिहीबार मात्रै नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ।

शुक्रबारको बैठकपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ दल नेकपाले गरेको छ। उनी नेकपाबाट उपसभामुख बनेकी थिइन।

संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ। नेकपाले सभामुख राखेर उपसभामुख अर्कै दललाई दिने तयारी गरिरहेको नेताहरु बताउँछन्।

सभामुखमा संभावना कस्को ?
रिक्त रहेको सभामुख पदका लागि सत्तारुढ नेकपामा छलफल तिर्ब छ । यसअघि पूर्वमाओवादीलाई सभामुख र पूर्वएमालेलाई उपसभामुख पद थियो । यि दुबै पार्टीबीच एकिकरण भई नेकपा बनेपछि अब संविधान अनुसार यी दुबै पद नेकपाले पाउने छैन ।
त्यसैले पक्कै पनि नेकपाले सभामुख पदमा नै आफ्नो दावी गर्नेछ र त्यसका लागि कसलाई अघि सार्ने भन्ने बिषयमा पाटीभित्र चर्को वहश छ ।
यसअघि सभामुख पद पूर्वमाओवादीले पाएका कारण अहिले पनि त्यहि समुहबाट छानिनु पर्ने आवाज जोडले उठिरहेको छ । त्यसका लागि नेता अग्नि सापकोटाको दावीसहित पूर्वमाओवादी नेताहरु एकमत देखिएका छन् ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नेता सुवाश नेम्वाङलाई अघि सार्ने हल्ला पनि सुनिएको छ । यद्यपी यिनै अड्कलबाजी र हल्लाकाबीच आज नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलत्कारको प्रयास गरेको आरोप लागेपछि १४ असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ।

आज बस्ने पहिलो संसद बैठकमा के हुन्छ ?
हिउँदे अधिवेशनको शुक्रबार अपरान्ह ४ बजे बस्ने पहिलो बैठकमा अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिद्धारा पठाइएको पत्र सुनाइनेछ । मन्त्रिपरिषदका सदस्य हेरफेरबारे संसदमा जानकारी गराउने कार्यसूची पनि छ ।

त्यस्तै चार जना पूर्वसां‌सदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । त्यसपछि अर्को बैठक एकसातापछि पुस ११ गते बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार