आज २५ औं जनयुद्ध दिवस भव्य रुपमा मनाइदै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज २५ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउँदैछ।

नेकपाले आफ्नो केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बिहान श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजनागरी जनयुद्ध दिवश मनाएको छ । कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, पार्टी महासचिव बिष्णु पौडेल, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, नेकपा नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल, नेता बामदेश गौतम, पम्फा भुषाल लगायतका नेताहरु सहभागी भइ जनयुद्ध दिवशको अवसरका शहिदप्रती श्रद्धाञ्जली ब्यक्त गर्दै जनयुद्धको स्मरण गरेका छन् ।

तत्कालीन नेकपा एमाले र जनयुद्धको नेतृत्व गरेको माओवादीबीच पार्टी एकता भएर नेकपा गठन भएपछि शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा भन्दै जनयुद्ध दिवश मनाइदै आएको छ ।

यसअघि तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको अवसर पारेर हरेक बर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको थियो ।

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । जनयुद्धमा बिद्रोही माओवादी र सरकार दुवै पक्षबाट करिब १७ हजार नेपालीले ज्यान गुमाएका थिए ।

२०६३ मंसिर ५ गते हतियार बिसाउँदै माओवादी शान्ति प्रक्रियामा आएको थियो । तत्कालीन जनयुद्धको बलमा भएको २०६२र६३को जनआन्दोलनले राजतन्त्रको अन्त्य हुँदै देशमा संघिय गणतन्त्र आएको थियो ।

जनयुद्ध कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्
नेकपाले आयोजना गरेको जनयुद्ध दिवशमा प्रधानमन्त्री केपी ओली सहभागी भएनन ।
यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड दुवैजना सहभागी हुने जानकारी दिएका थिए । प्रधानमन्त्री ओली अघिल्लो बर्षको जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार