
काठमाडौ । भारतबाट फेरि नेपाली युवतीलाई उद्धार गरिएको छ । अश्लील नृत्य गर्न बाध्य पारिएकी ६ जना नेपाली युवतीलाई भारतको उत्तर प्रदेश र बिहारबाट उद्धार गरिएको हो ।
उद्धार गरिएका नेपाली युवतीलाई सोमबार रक्सौल नाकामा उनीहरुको परिवारजनको जिम्मा लगाइने प्रहरीले बताएको छ ।
सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने र आकर्षक पारिश्रमिक पाइने प्रलोभन देखाएर उनिहरुलाई अश्लील नृत्य देखाउन बाध्य पारिएको पीडितहरुले बताएका छन् ।
प्रहरीका अनुसार भारतको उत्तर प्रदेश र बिहार राज्यमा सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै उनीहरुलाई नेपालबाट लगेर ‘आर्केस्ट्रा’मा अश्लील नृत्य गर्न लगाएको हो ।
पीडित युवतीहरुका अनुसार उनीहरुलाई प्रति महिना २५ देखि ३० हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने प्रलोभनमा भारत ल्याइएको र त्यहाँ अश्लील नृत्य देखाउन बाध्य पारिएके थियो । सुरुमा उनिहरुलाई उत्तर प्रदेशमा लागिएको र त्यसपछि बिहारमा पु¥याइएको थियो ।
उक्त समूहबाटै भाग्न सफल एक जनाले गोरखा सेवा संघका सूरज थापालाई घटनाबारे जानकारी दिएपछि थापाकै समन्वयमा भारतीय प्रहरीले ती युवतीलाई उद्धार गरेको भारतिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
उनीहरुलाई जबर्जस्ती अश्लील नृत्य गर्न लगाउने मुस्कान आर्केस्ट्राका सञ्चालक भने फरार रहेको प्रहरीको भनाइ छ ।









