
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै लम्बिने र यो नागरिकलाई दुख दिन नगरिएको प्रष्ट पारेका छन् । हालका लागि चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बैशाख ३ गतेसम्म भएपनि यो लम्बिने उनले बताएका छन् ।
शनिवार प्रधानमन्त्रीले सिंहदरबारस्थित एक्सन रुमबाटै भिडियो कन्फ्रेन्समार्फत सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग गरेको छलफलमा
यस्तो बताएका हुन ।
लकडाउन नागरिकलाई दुख दिने मानसायले नगरिएको भन्दै उनले कोरोनाबाट देशलाई बचाउनका लागि अहिले नै लकडाउन नहटाउने र सीमा नाकामा थप कडाइ गरिने समेत बताए ।
मुख्यमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको खतरालाई कुनै पनि भावुक कुरासंग जोडेर कसैले पनि लापरबाही नगर्न आग्रह गरे।
मुख्यमन्त्रीहरुसंगको छलफलपछि जारि गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सीमा नाकामा कडाई गरिने, लकडाउनलाई निरन्तरता दिने र संक्रमणको खतरालाई कुनै पनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरु ज्यूहरु स्पस्ट हुनपर्छ ।’
प्रधानमन्त्रीसंगको छलफलमा मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकाले नेपालमा खतरा नहोस भन्नका लागि लकडाउनको अवधि बढाउनु पर्नेमा जोड दिएका थिए ।
साथै प्रधानमन्त्रीले प्रदेशमा देखिएको स्वास्थ्य सामग्री अभावको समस्या पनि चाँडो समाधान गर्न मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए ।
भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने समझदारी समेत भएको बताइएको छ ।
प्रधानमन्त्री संगको भिडियो छलफलमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मेख्यमन्त्री त्रिलोचन भट्टले पालैपाले स्थानिय र प्रदेश सरकारले कोरोनाबारे गरेका कामको जानकारी दिएका थिए ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये ४ जना सुदूरपश्चिममा देखिएका छन् । उनिहरुको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
भिडियो सामाग्री पनि हेर्नुहोस














