छोटे राजाहरुलाई ‘कोरोना’ दसैं मनाउने धन्दा नहोस

  जयराज (समिप राज)


सर्बप्रथम कोरोना भाइरसको त्रासबीच भएपनि सबैमा नयाँ बर्षको हार्दिक शुभकामना भन्न चाहन्छु । नवबर्षको अवसरमा अरु कामना भन्दा पनि एउटै कामना गर्दछु, “समस्त मानव जातिको रक्षार्थ कोरोना भाइरस सदाका लागि यो सुन्दर संसारबाट नष्ट भएर जाओस ।”

मानव जीवन नै सिकाई हो । विभिन्न भोगाईबाट हामी सिक्दै जान्छौं । त्यस क्रममा हामी हरेक दिनलाई नयाँ र फरक बनाउने कोसिस गरिरहेका हुन्छौं । अझ यि दिनहरुमा घर बन्दी (लकडाउन) का सिकाई र भोगाईहरु त झनै जिवनका अविस्मरणिय क्षण हुनेवाला छन् ।

जीवनको भोगाईबाट प्राप्त तितामिठा घटनाहरुलाई यो बर्षको अन्तिम घडीमा हरेक नेपाली लगायत मेरा लागि पनि महत्वपुर्ण बन्दैछ ।
सारा बिश्वलाई भयावह बनाएर मानव जातिलाई नै सखाप पार्न जन्मिएको कोरोना भाइरस (कोभिड-१९) ले दिएको दुख र सिकाएको पाठलाई यहाँ ब्यक्त गर्ने कोशिस गर्दैछु ।

कोरोनाबाट बच्न र संक्रमण फैलिन नदिन विश्वभर अपनाइएको उउटै विकल्प नेपालले पनि नअपनाई सुख्खै थिएन । र, सरकारले चैत्र ११ गतेदेखि २५ गतेसम्म पहिलो चरणमा देश लकडाउन घोषणा गर्यो । सबैजना घरभित्रै हुलिए । सुरुका दुईचार दिन ज्यादै असहज भयो ।

हुन त बेला खबत हुने नेपाल बन्दले हामीलाई बानी पारि सकेको थियो घरमै बस्न । तर, त्यो नेपाल बन्द साँझ ५ बजेपछि अक्सर खुलथ्यो ।
त्यहि सम्झेर कतिपय साँझ ५ बजेपछि घर बाहिर निस्के पनि । तर, यो कुनै पार्टी र समुहको स्वार्थका लागि गरिएको बन्द नभएर माहामारीबाट बच्नका लागि गरिएको हो । र त्यसरी घरबाहिर निस्कनेलाई प्रहरीले कतिपय ठाउँमा चेत खुल्नेगरी लठ्ठी पनि बजायो ।

धन्न आफु भने परिएन । तर, प्रहरीले त्यसरी लकडाउन उल्लघन गर्नेलाई गरेको कारवाही सुनेर हाँसो र दुख दुबै लागथ्यो, जुन अहिले रोकिएको छ ।

सरकारले लकडाउन बैशाख ३ गतेसम्म फेरी थपेपछी साँच्चिकै जेल परे जस्तै भएको छ । जेलमा दुई छाक खाना राम्रै दिन्छन भन्ने सुनेको छु । यहाँ म जस्ता बिधार्थीले दुई छाक खानै मुस्किल भइसक्यो ।

बडों दिगदारीका दिनहरु बित्दै गर्दा एक्कासी ‘सरकारले शुक्रबार र शनिवार घर जान दिने भयो’ भन्ने खबर सुन्दा मैले झट्ट सुदूरपश्चिमेलीहरुको ठुलो पर्व बिसु (नयांबर्ष) सम्झे ।

‘आहा, अब त बिसुमा घर गइने भयो । मज्जाले गाउँ गएर मासु भाल पेटभरी खाइन्छ, गाउँमा कोरोनाको खासै डर हुन्न ।’ तर, यो मेरो खुशी एक डेढ घण्टामै निरासामा बद्लियो । लकडाउनमा काठमाडौंबाट ठुलो संख्यामा मान्छेहरु गाउँ जाँदा संक्रमणको डर हुन्छ भनेर बिरोध भएपछि सरकार पछि हट्यो ।

सरकार केहि मन्त्रीहरुका यस्ता आलाकाच्चा निर्णय देख्दा मेरो कन्परो तातेकै हो, सायद तपाईको पनि । एकातीर लकडाउन अर्कोतीर म जस्ता सिमीत खर्चमा डेरागरी बस्ने बिधार्थीहरु यस्तो हाहाकारमा बस्नु भन्दा घर जान मै खुशी हुन्थे, सायद ।

तर पनि हामी विश्व माहामारीको रूपमा फैलिएको रोगका बिरूद्ध सरकारसंगै घरभित्रै बसेर संयुक्त लडाई लडिरहेका छौं ।

शहर बजारका हुनेखाने र नेताहरुलाई त महिनौं दिनसम्म लकडाउन भएपनि खासै फरक पर्दैन । तर, म जस्ता कोठा भाडामा बस्ने बिद्यार्थी, ज्याला मजदुरहरुको अवस्था साँच्चिकै दयनिय बन्दै गइरहेको छ ।

बजारमा महँगी अनि अभाव उस्तै छ । सरकारले ज्याला मजदुरलाई लकडाउनको समयमा केहि पाँच / दश किलो चालम, चिउरा, नुन तेल दिए पनि बिद्यार्थीले भने पाएका छैनन् । मजदुरलाई दिएको पनि अपुग छ । कतिपय ठाँउमा कुहिएको चामल वितरण गरेका समाचार पनि आइरहेका छन् ।

“सरकार, म जस्तो बिकट बाजुरा जिल्लाबाट आएर दुखसाथ काठमाडौंमा पढ्दै गरेको बिद्यार्थीलाई खान चाहिन्न र ? के मेरा बा आमाले यो बेला घरबाट खाद्यान्न पठाउन सक्छन् ? खै हाम्रो बारेमा सोचेको ? यो सरकार बिद्यार्थीको पनि होइन र ?”

लकडाउन अलि बढि नै फुर्सदिलो भएर केहि फाइदा पनि भएको छ भनौं । मोवाइलमा डाटा प्याक निकालेर घरमा बा आमा, आफन्तसंग कुराकानी गरिरहेको छु । कोरोना भाइरसबाट बच्ने उपाय भनिरहेको छु । तर, बुढा बा आमालाई मेरै चिन्ता…..

केहि साथीहरुसंग पनि फोनमा कुराकानी भयो । सबैका आ आफ्नै ब्यथाहरु छन् । एकजना साथी भन्दै थियो, ‘म त साथीको कोठामा आएको छु । दुई दिन भयो चाउचाउ खाएर बसेको । त्यही चाउचाउको रेट पनि बढ्ला भन्ने पिर छ यार, हामी त भोकै बस्न सकौला तर मेरी तीन बर्षकी छोरीलाई के खुवाउने होला ?’

साथीको यस्तो अवस्था सुनेपछि लाग्यो अब कोरोनाले भन्दा पनि हामी जस्ता मान्छेहरु भोगले मर्नेछन् । आफुलाइ जस्तो भएपनि सानो बच्चा भएको साथीलाई केहि खानेकुरा दिउँ सोचेंर भेट्न आउँछु भने । साथीले फेरी मेरो पीर गरेर, ‘न आइजा लकडाउनमा सडकमै दुईघण्टा उभिनुपर्ला फेरी ।’ लकडाउनका बेला सडकमा आउनेलाई प्रहरीले दुईघण्टा सडकमै राखेर कारवाही गर्ने गरेका खबरहरु आइरहेका छन् ।

साथीलाई खानाको मात्रै समस्या रैनछ । उ भन्दै थियो “यार, मेरो घरबेटीले त चैत्र पन्ध्र गते नै बैशाख महिनासम्मको कोठाभाडा लगिसक्यो । ‘सरकारले एक महिनाको भाडा नलिनु भनेको होइन र घरबेटी अंकल, भन्दा उल्टै झपारे ।”

कोठामा समस्या भएपछि साथी अहिले बौद्धमा साथीको कोठामा बस्दैछ । खानाको चिन्ता र मानवता नभएको घरबेटीबाट आजित भइसकेपछि साथी फोनमा भन्दै थियो ‘हिंडेरै भएपनि घर जाँउ कि क्या हो ?’

‘मसंग भएको खानेकुरा बाँडेर खाउँला । हेर साथी देश नै लकडाउन भएको बेला हामी जहाँ छौँ त्यहि सुरक्षित घरभित्रै बस्नु पर्दछ । यो आफु बँच्ने र अरुलाई बचाउने कुरा हो,’ मैले साथीलाई ढाडस दिए ।

यो त काठमाडौँमा भएको म र मेरो साथीको अवस्था भयो । यहाँ म र मेरा साथी जस्ता हजारौं मनिसहरु बडों दुखका दिनहरु बिताउन बाध्य छन् सरकार ।

यस्तो देश नै संकटमा परेको बेला केहि मानवता हराएकाले यहि मौकामा भ्रष्टाचार गर्ने र राहात कुमल्याउने गरेको खबर पनि सुनिदैछ, जुन ज्यादै दुखत छ । मान्छेहरुका यस्तै दानविय हर्कतले आज मानव अस्तित्व नै संकटमा परेको छ ।

कोरोनाको मौका छोपी छोटे राजालाई दसैं मनाउने मेलो नहोस । कमाउने धन्दा नहोस ।

फेरी पनि एउटा बिद्यार्थीहरुको आग्रह छ, यो संकटको समयमा सबैले मानवता देखाउँ, एकले अर्कालाई परेको समस्या टारौं । सरकारले घोषणा गरेको लकडाउनको पुर्ण पालना गर्दै घरभित्रै बसौं र शहर बजारमा डेरागरी पढ्ने र दैनिक काम गरेर पेट पाल्नेलाई सरकारले आवश्यकता अनुसार राहात दियोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार