जनकपुर । कोरोना भाइरसको स्वाब परीक्षण हुँदै आएको प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण स्थगित गरिएको छ । कोरोनाको रिपोर्टमा तलमाथि भएपछि परीक्षण स्थगित गरिएको हो ।
प्रादेशिक अस्पतालका चिकित्सकहरुले स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका गरेका छन् । प्रादेशिक अस्पतालमा चेक गर्दा नेगेटिभ आएको रिपोर्ट काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ आएपछि उनीहरुले मेसिनमा नै केही समस्या भएको हो कि भन्ने आशंका गरेका छन् ।
बिहीबार सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिकित्सकहरुले गरेका छन् । त्यसैले चेकजाच कार्य बन्द गरिएको अस्पतालले जनाएको छ ।
जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक किशोरको रिपोर्ट बिहीबार काठमाडौँस्थित राष्ट्रिय प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका उत्पन्न भएको छ ।
यसअघि जनकपुरमा सयभन्दा बढी परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । चिकित्सकले ती परीक्षणमा पनि शंका गरेका छन् । यदि मेसिनकै समस्याले यस्तो भएको भने ठुलो समस्या निम्तिने देखिन्छ ।
यसअघि किटबाट परीक्षण गर्दा एन्टीबडि पोजिटिभ आएपछि पून : स्वाब परीक्षणका लागि उक्त मेसिनको प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ । प्रयोगशालामा काम गर्नेहरुले पनि मेसिनकै कारण फरक रिपोर्ट आएको हो कि भन्ने आशंका गरेका छन् ।










