
काठमाडौं । केही समय अघि बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि भएको छ । कामको लागि बर्दिया आएका र पछि भारत फर्किएका भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो ।
उनीहरु बर्दियाको राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत थिए । काम गर्ने कामदारलाई कोरोना पुष्टि भएपछि क्रसर क्षेत्र र त्यसको आसपासका क्षेत्रमा उच्च निगरानी गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताएका छन् ।
कोरोनाका कारण क्रसर बन्द हुने थाहा भएपछि उनीहरु बैशाख ५ गते बहराइच गएका थिए । उनीहरुको त्यहाँ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बताइएको छ । बहराइचको प्रशासनले बाँकेको इलाका प्रहरीलाई पत्रमार्फत कोरोना पुष्टि भएको जानकारी गराएको प्रहरीले जनाएको छ ।
त्यसपछि बर्दियाको प्रशासनले क्रसरमा काम गर्ने सबै मजदुरको थ्रोट परीक्षण गर्दा अरुको रिपोर्ट भने नेगेटिभ आएको बताएको छ ।










