महोत्तरी । तराईको जिल्ला महोत्तरीमा एक सतायता ६ जनाको रहस्मय मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भंगाहा नगरपालिकाका ६ जना रहेका छन् ।
यसअघि ४ जनाको मृत्यु भएको भंगाहामा बिहीबार थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ६ पुगेको हो । बिहीबार मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सुकदेव महारा रहेको प्रहरीले जनाएको छ ।
यसअघि सोही ठाउँमा चार जनाको मृत्यु भइसकेको छ । गाउँमा एकपछि अर्को मर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । एकसातामा ६ जनाको मृत्यु भइसकेको भएपनि उनीहरुको के कारणले मृत्यु भएको हाे त्यो भने खुल्न सकेको छैन् ।
यसअघि मृत्यु भएका ४ जनाको विषाक्त मदिराका कारण मृत्यु भएको भनेर प्रहरीले बताएको थियो । बिहीबार मृत्यु भएका दुई जनाको पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले कारण भन्न नसकिने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार मृत्यु भएका दुई जनाको पनि विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका छ । मृतकको कोरोना परीक्षणका लागि स्वाबको नमुनामा पनि संकलन गरिएको छ ।
घरेलु रुपमा धेरै मदिरा उत्पादन गरिने उक्त ठाउँका चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको कारण पनि मदिरा नै हुनसक्ने अनुमान गरिएको भएपनि पोष्टमार्टम रिपोर्ट नआई अहिले नै भन्न नसकिले प्रहरीको भनाई छ ।










