
(शुक्रबार भारतिय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक -मानसरोवर सडक उद्घाटन गर्दाको तस्बिर)
काठमाडौं । कोरोनाका कारण देश लकडाउनमा रहेका बेला भारतले भने नेपालमाथि दादागिरी देखाइरहेको छ । लकडाउनका बेला पनि सीमा क्षेत्रमा खटिएका भारतिय सुरक्षाकर्मीले नेपालीमाथि दुब्र्यवहार गर्न छोडेका छैनन् ।
हुँदा हुँदा लकडाउनको मौका छोपी भारतले दुईदेशबीचको सीमा क्षेत्र लिपुलेकमा एकलौटी रुपमा सडक बनायो । शुक्रबार मात्रै भारतिय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवर जाने ८० कि.मी सडकको उद्घाटन गरे ।
जुन सरासर गलत छ । भारतले यसअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयां नक्सा जारि गर्दा नै नेपालले आधिकारीक रुपमै उक्त भुभाग नेपालको भन्दै भारतलाई पत्र पठाइसकेको थियो ।
त्यसपछि दुबैदेशबीच कुटनितिक पहलबाट समस्या समाधान गर्न भारत तयार रहेको जानकारी दिएको थियो । विभिन्न सन्धी सम्झौताअनुसार कालापाली, लिपुलेक, र लिम्पियाधुरा नेपालको रहेको प्रमाणित हुन्छ ।
जुन तथ्यलाई भारतले लत्याउँदै दादागिरी शैलीमा लिपुलेकमा सडक बनायो । सरकारले भारतको उक्त कार्यप्रती कडा आपत्ती जनाएको छ । शनिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले एकलौटी रुपमा नेपाली भूमी लिपुलेकमा सडक बनाएकोप्रती दुख ब्यक्त गरेको छ ।
सीमा विवाद हल गर्नका लागि दुबै देशका प्रधानमन्त्रीबीच भएको सहमति विपरित नेपाली भूमीमा कुनै पनि गतिविधि नगर्न परराष्ट्र मन्त्रालयले भारतलाई आग्रह समेत गरेको छ ।
लिपुलेकमा भारतले बनाएको सडकको बिषयलाई लिएर फेरी सडक आन्दोलन उठेका छ । भारतको मिचाहाप्रवृती बिरुद्ध चर्को बिरोध भइरहेका छन् । नेपाली भूमी मिचेको बिरोध गर्दा शनिवार मात्रै काठमाडौंबाट तीन दर्जन बढी युवाहरु पक्राउ समेत परे ।
देशको भुभाग मिचेको बिषय भएकाले जारी लकडाउनको पनि वेवास्ता गर्दै युवाहरु आक्रोषित हुँदै भारतिय दूतावास घेर्न जाँदा प्रहरीले पक्राउ गरेको थियो । आक्रोषित युवाहरुले प्रधानमन्त्रीको राजीनामा समेत मागेका थिए ।
लकडाउनकै मौका छोपी दशगजा क्षेत्रमा बाँध विस्तार

लकडाउनको मौका छोपेर भारतले दशगजा क्षेत्रमा बाँध विस्तार समेत गरेको छ । स्थानिय जनप्रतिनिधीका अनुसार रौतहटको ईशनाथ गरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतले बाँध विस्तार गरेको हो ।
कानूनअनुसार दशगजा क्षेत्रमा कुनै पनि कच्ची वा पक्की संरचना बनाउन पाइँदैन । तर, भारतले मनोमानी ढँगले बाँध निर्माण गर्दा बर्खायाममा डुबान हुने भय उत्पन्न भएको स्थानिय बताउँछन ।
जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदै गरेको ईशनाथ नगरपालिका-१ का वडाध्यक्ष बिगु साह बनियाँले बताए ।
त्यहाँ मात्रै होइन पुर्बी नेपालका तराई क्षेत्रका विभिन्न सीमा क्षेत्रमा भारतले मनोमानी ढँगले बाँध निर्माण गर्दै आएको छ । जसका कारण बर्षेनी डुबान भइ ठुलो क्षती हुँदै आएको छ ।
लकडाउनको मौका छोपी भारतले बाँध बनाइरहेको विषयमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि कुनै सुुनवाइ नभएको स्थानियहरुको गुनासो छ । गैरकानुनी रुपमा भारतले बनाएको उक्त बाँधका कारण स्थानियहरु बर्षेनी डुवानको समस्या झेल्दै आएका छन् ।
अहिले सरकारका अगाडी कोरोना महत्वपुर्ण चुनौती भएपनि नेपाली भुभाग मिचिएको बिषय देशकै अस्तित्वसंग जोडिएकाले यसलाइ नजरअन्दाज गर्न मिल्दैन । त्यसैले यसबारे स्वयम प्रधानमन्त्रीले सबै राजनीतिक दल र जनताको साथ लिइ कुटनितिक तवरले समस्या समाधान गर्नुपर्दछ ।











