
काठमाडौं । नेपालमा पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनामा कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा महोत्तरीमा भेटिएका दुईजना संक्रमति नेपाली सेनामा कार्यरत रहेको खुलेको छ ।
जसअनुसार काभ्रे घर भइ हाल महोत्तरीमा सेनामा कार्यरत २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष पनि महोत्तरीमै सेनाका कार्यरत रहेको खुलेको हो ।
जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई जवानमा कोरोना पुष्टि भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार दुवैजना मध्य पृतना महोत्तरीमा कार्यरत जवान हुन । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याइने र सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने प्रवक्ता पाण्डेले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।











