
सप्तरी । सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमित बढ्न थालेपछि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा जारी गर्नका लागि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ ।
स्थानीय प्रशासनले नगरपालिकामा अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा स्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।
कोरोनाका संक्रमणबाट राजविराजमा गएको बिहीबार मृत्यु भएका वृद्वको परिवारका ५ जना सदस्य, एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले यस्तो कदम चालेको हो ।











