
जनकपुर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जनकपुरमा पनि निषेधाज्ञा जारी गरिएको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम आज रातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले तोकिएका बाहेक कोहीपनि घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु आजराती १२ बजेदेखि एक हप्तासम्मका लागि बन्द हुने छन ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको हो ।










