काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले नेपालले एक अनन्य मित्र गुमाएको बताएका छन् । मुखर्जीको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनको निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता गुमाएको समेत बताएका छन् ।
“विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ प्रचण्डले श्रद्धाञ्जली दिदैं भनेका छन, उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ।”
अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा मुखर्जीलाई नेपालमा स्वागत गर्न पाएको क्षण स्मरण समेत गरेका छन् ।
“मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अबसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहॉप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रचण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतका पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार दिउँसो मृत्यु भएको छ । उनमा कोरोना संक्रमण देखिएको थियो ।
यो पनि पढौं