विजय रामको हिरासत भित्रै कुटपिटबाट मृत्यु भएपछि इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित


रौतहट । हिरासत भित्रै प्रहरीको कुटपिटबाट रौटहटका बिजय रामको मृत्यु भएपछि इन्सपेक्टरसहित ३ जना प्रहरी निलम्बित भएका छन् । हिरासत भित्रै कुटपिटबाट सक्त घाइते भएका रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक रामको उपचारका क्रममा मृत्यु भएको थियो ।

यो विषयमा निष्पक्ष छानविन गर्न रौतहटमा चर्को विरोध भएपछि प्रहरीले तीन जनालाई निलम्बन गरेको हो । निलम्बन हुनेमा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार रहेका छन् । गृह मन्त्रालयले उनीहरु तीनै  जनालाई सोमबारदेखि ६ महिनासम्मका लागि निलम्बन गरेको हो ।

गडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते गाउँकै विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरेर घटनाको अनुसन्धानमा खटिएका सिंहसहित सादा पोसाकका प्रहरी हवल्दार फिरोजमिया धुनिया र अर्का हवल्दार मन्नुकुमार सिहले विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोपपछि उनीहरुलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरिएको हो ।

पीडित परिवारले रामको कुटपिटबाटै मृत्यु भएको दाबी गरेका छन् । यो विषयमा रौतहटमा व्यापक विरोध भएपछि गृहमन्त्रालयले कारवाही प्रक्रिया सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार